निष्पट्ट, सुनसान अँध्यारो रातमा केवल जुनकिरी जस्तै लाग्ने केही चम्किला ताराहरूको सहारामा सुन्दर चाँदनीको छाया पछ्याउँदै, हजारौँहजार क्षितिज चाहार्दै, भोलिको सुन्दर उषा जन्माउने महान् अभिलाषाका साथ विविध प्रतिभारूपी सुनगाभा फुलाउदै, लालुपाते र मखमलीमा सुन्दरताका रङ पोट्दै, चमेली र लालीगुराँसका परागमा बासनादार सुगन्ध छर्दै, साहित्य, कला र सङ्गीतका माध्यमबाट सामाजिक रूपान्तरण र युग परिवर्तनको मिठो सपना बाँड्दै एउटा छुट्टै पृथक र गर्विलो साहित्यिक एवम् साङ्गीतिक इतिहास रच्न सफल गाउँमैत्री अक्षयकोषले यति बेला दशौँ वर्षगाँठ मनाउँदै छ । दशौँ वर्षगाँठको स्वर्णीम अवसरमा हार्दिक बधाइ अर्पण गर्दै संस्थाको निरन्तरता र सफलताको शुभकामनासमेत व्यक्त गर्दछु ।
मखमली घलेकीमा सजिए जस्तै लाग्ने झुलेनी र सिरसिर बतासमा आफ्नो स्वर मिलाउन व्यस्त वसन्ताप र तिनै झुलेनी र वसन्तापको काखमा अवस्थित गोधुली साँझमा पनि बिहानी मिरमिरेको आभास हुने एउटा सुन्दर, रमणीय र लोभलाग्दो गाउँ हो, तङ्ग्राम, जहाँ प्रकृतिका सुन्दर उपहार छरप्रस्ट भेटिन्छन । हेरिरहुँ लाग्ने लालीगुराँस र जति हेरे पनि नअघाइने हिमशृङ्खला साँच्चिकै यहाँका मनमोहक प्राकृतिक सम्पत्ति हुन । सल्लेरीका मिठो सुस्साहट, हरियाली वनजङ्गल, सुन्दर पाखापखेरा, कलकल बग्ने खोला र रहरलाग्दा झरना प्रकृतिले हामीलाई सित्तैमा दिएका उपहार हुन् । बिच बिचमा रहेका सुन्दर मानवबस्ती, आयो, हुर्लाङ, दरफुङ र गन्जाका फाँट, विद्यालयका आकर्षक भवन, धार्मिक आस्थाका धरोहर विभिन्न मठमन्दिर, हरेक बस्ती पछ्याउदै गरेका पदमार्ग र आकर्षक तालतलैया र पोखरी मानव निर्मित सम्पत्ति हुन । यहाँका वनपाखा उकालीओरालीमा गुन्जिने यानीमाया, सोरठी, झ्याउरे, सालैजो जस्ता मौलिक लोकसङ्गीत हाम्रा पुर्खाले दिएका पौराणिक सांस्कृतिक सम्पत्ति हुन् ।
विवाह जस्ता शुभकार्य एवम् पाहुनाको स्वागत–सत्कारमा खुसी, उमङ्ग र उत्सव मनाउन बजाइने नौमती एवम्् पञ्चेबाजा पनि यहाँको निकै पुरानो र मौलिक संस्कृति हो । मगरजातिको अत्यधिक बसोबास रहेको तङ्ग्राम, जहाँ मगरजातिको आफनै रीतिथिति, चालचलन, भेषभुषा, संस्कृति छन्, जो अन्यत्र छैन । यहाँका मगर समुदायले मात्र मनाउने चैतेचाड सम्भवतः नेपालका कुनै पनि मगर मगरजातिको बाहुल्यता रहे पनि अन्य जातिमाझको एकता, सद्भाव र एकर्काबिचको सम्मान साँच्चिकै उदाहरणीय छ यहाँ । प्रकृतिको सुन्दर उपहारमा मानव निर्मित संस्कृति र सम्पत्तिको संयोजन गर्दै आफूलाई पृथक् र फरक पहिचानको रूपमा उभ्याउन सफल साँच्चिकै रमणीय र लोभलाग्दो गाउँ हो, तङ्ग्राम । यतिबिघ्न सुन्दर जननीको सुन्दर सिर्जना हो, जिमाक । जिमाक र यसको जन्म साहित्य र सङ्गीतमा आधारित छ । करेसाको सौन्दर्यता फूलहरूले भरे जस्तै सामाजिक सुन्दरताको गहना कला, सङ्गीत नै हो । अनि, कला, साहित्य र सङ्गीत जिमाकको जीवन हो, प्राण हो । सिर्जना जिमाकको यात्रा हो । कलम, बाँसुरी, मादल र सारङगी यात्राका सहयात्री हुन । नवीनतम प्रतिभा यसका सन्तति हुन । असभ्यता, अश्लीलता, रूढीवाद र छाडा संस्कृति जिमाकका शत्रु हुन् । सुसंस्कृति र समृद्ध समाजको निर्माण यसका परिकल्पना हुन् । कुसंस्कृतिको भण्डाफोर र सुसंस्कृतिको बिजारोपण जिमाकको मूल मन्त्र हो । क्षितिजहरू जिमाकका समीप हुन् । अप्ठ्यारो, चुनौती र कठिनाइ आफू हिँड्ने गोरेटा हुन् । हजारौँ प्रतिभाको जन्म, सिर्जनाको असीमित वर्षा र अविचलित यात्रा जिमाकका सफलता हुन् । २०६६ सालको वर्ष जिमाकको प्रादुर्भाव कालीन वर्ष हो तर जिमाकको सोच र परिकल्पना भने २०६५ सालदेखि नै आएको हो । जिमाकका अध्यक्ष हेमराज आश्रम र सुप्रभा थापाबिच भएको प्रगतिशील विवाहको विशेष अवसरमा उहाँहरूले साहित्य, कला र सङ्गीतको संरक्षण, संवद्र्धन र उजागरका निमित्त अक्षयकोष स्थापना गरी कला एवम् साहित्य क्षेत्रका प्रतिभाको निरन्तर खोजी, सम्मान, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्घोष गर्नुभएको थियो । त्यसको ठिक एक वर्षपछि गाउँमैत्री अक्षयकोष नामक संस्था स्थापना भई यसले वैधानिकता प्राप्त गरेको थियो । आफनो प्रादुर्भाव कालीन वर्षदेखि नै थालनी गरेको गीत, सङ्गीत र साहित्यको यात्रा हालसम्म निरन्तर उही रफतारमा यात्रारत छ । जिमाकले न त कहिल्यै खहरेको रूपधारण ग¥यो, न त कहिल्यै आफूले विश्राम नै लियो । यात्रामा धेरै यात्री भेटिए । भनिन्छ, यात्रामा यात्रीहरूमाझ भलाकुसारी गर्दै हिँडियो भने छिटो बाटो काटिन्छ रे, तिनै यात्रीहरूसँग भलाकुसारी गर्दै जिमाक निरन्तर आफनो बाटो काटिरह्यो तर विडम्बना, कसैले साथ छोडे कसैले विश्राम लिए त कोही यात्रामै कता हराए कता । साँच्चिकै जिमाकको यो दश वर्षे यात्रा कठिनाइ, असहजता र चुनौतीको प्रसव पीडाबाट निस्केको एउटा गौरवमय अमरगाथा हो ।
गाउँमैत्री अक्षयकोष जिमाकको आधिकारिक व्यक्ति त म होइन तर जिमाकसँग अल्लि बढी नजिक छु र परिचित पनि । जिमाकद्वारा वार्षिक रूपमा सञ्चालन हुने ट्यालेन्ट अफ भिलेज टिअाेभी को हालसम्म सञ्चालन भएको दशौँ सिजनमध्य एउटा सिजनबाहेक सबै सिजनमा सहभागी हुने अवसर प्राप्त गरेको छु । जिमाकको पहिलो कार्यक्रम ट्यालेन्ट अफ भिलेज सिजन–१ सहित दुईओटा सिजनको प्रमुख अतिथिको हैसियतमा कार्यक्रम उद्घाटन गर्ने अवसर पनि प्राप्त गरेको छु । त्यसो त जिमाकका अध्यक्ष हेमराज आश्रम मेरो अभिन्न साङ्गीतिक सखा पनि हुन् । कला सङ्गीतको यात्रामा हामी जहाँ पनि र जहिले पनि सँगसँगै रह्यौ । हेमराज आश्रमको प्रगतिमा कहिल्यै नअघाउने मान्छे हु म । त्यसैले जिमाकलाई मैले अल्लि बढी नजिकबाट नियाल्ने मौका पाएको छु । मलाई सम्झना छ, गाउँमैत्री अक्षयकोष जिमाकको पहिलो औपचारिक र आधिकारिक कार्यक्रम श्री धारा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो । ट्यालेन्ट अफ भिलेज सिजन–१ नाम दिइएको उक्त कार्यक्रमको विशेष समारोहमा गाउँमैत्री अक्षयकोष जिमाकको आधिकारिक धारणा राख्दै हेमराज आश्रमले भन्नुभएको थियो कि “ग्रामीण क्षेत्रका नवप्रतिभाको संरक्षण, सम्वद्र्धन र उजागर गर्ने अभिप्रायले जिमाकको स्थापनादेखि सुरुवात गरेको ट्यालेन्ट अफ भिलेज वार्षिक रूपमा नियमित र अविचलित रूपमा सञ्चालन गरिने छ, जहाँ साहित्यतर्फ गजल विधामा र सङ्गीततर्फ गायन र नृत्य बिधामा प्रत्यक्ष प्रतिस्पर्धा गराई ट्यालेन्ट अफ भिलेज घोषणा गरिने छ ।” जसरी आश्रमले घोषणा गर्नुभएको थियो, त्यसरी नै एक दशकसम्म अविचलित रूपमा उक्त कार्यक्रम सञ्चालन हुनु निकै सुखद पक्ष हो । ट्यालेन्ट अफ भिलेज को हरेक शृङ्खलालाई मैले श्रष्टा, सर्जक र सम्पूर्ण कलाप्रेमीको उत्सवको रूपमा लिएको छु । ट्यालेन्ट अफ भिलेज को लोकप्रियता र प्रभावकारिता नै जिमाकको सफलता हो । गाउँको कुनाकन्दरामा फुलेका फूललाई सहरको गमलामा फुलेका फूलसँग प्रतिस्पर्धा गराउनु जिमाकको उदेश्य पनि हो । भने सहरको गमलामा फुलेका फूलहरूको सुगन्ध र सौन्दर्यता अनि अनकन्टार वनको कुनामा फुलेका फूलको सुगन्ध र सौन्दर्यतामा कुनै फरक छैन, मात्र अवसरको खाँचो हो† त्यो अवसर जिमाकले दिनुपर्दछ भन्ने जिमाकको अर्को मान्यता हो । ट्यालेन्ट अफ भिलेज को नवौँ सिजनसम्मका प्रस्तुति यसका ज्वलन्त उदाहरण हुन् । साहित्य लेखनबाट ट्यालेन्ट अफ भिलेज सिजन–१ बाट पहिलो पटक उदाएका विश्वासकुमार खड्काथोकी राष्ट्रिय मिडियामा एकछत्र राज गरिरहेका अहिलेका व्यस्त पत्रकार एवम् स्तम्भकार हुन् । उनका लेखनशैली साच्चिकै लोभलाग्दो छ । ट्यालेन्ट अफ भिलेज को दोश्रो सिजनमा आफूलाई गायन बिधाको सर्वोकृष्ट गायिकाको रूपमा उभ्याउँदै सङ्गीत क्षेत्रमा प्रवेश गरेकी अम्बिका पुन अहिलेका आधुनिक गीतसङ्गीतमा जम्न सङ्घर्षरत नवउदयीमान गायिका हुन् । उनको मिठास र कर्णप्रिय स्वर साँच्चिकै जादुमय छ । उनले प्रकाशनमा ल्याएका गीतहरू दर्शक एवम् श्रोताले अधिक रुचाएका छन् । नेपालको धेरै ठाउँको स्टेज प्रोग्राममा सहभागी भएर माया बटुल्दै हाल उनी गीतसङ्गीतकै सिलसिलामा विदेशमा छन् । नवप्रतिभाको खुल्ला आँगनी जस्तै बनेको जिमाकको वार्षिक कार्यक्रम ट्यालेन्ट अफ भिलेज का विभिन्न सिजनबाट उदाएका राज थापा, प्रतिमान थापा, गङ्गा थापा, यामदीप थापा, तोरण पुन, डि बी थापा, सुवास, मिनलगायतका दर्जनौँ श्रष्टा एवम् सर्जक अहिले पनि साहित्य लेखनमा उत्तिकै अब्वल दर्जामा आफूलाई उभ्याउन सफल भएका छन् । साहित्य लेखनसँगै साहित्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा पनि उहाँहरूले खेलेको भूमिका, साहित्यप्रतिको लगाव र निरन्तरता निकै प्रशंसनीय र उल्लेखनीय छ । गायन बिधामा ट्यालेन्ट अफ भिलेज को आँगनबाट आफूलाई स्थापित गराउन सफल बागलुङ धम्जाका अनिता थापा, बागलुङ तङ्ग्रामका सिर्जना पुन, उषा पुन, सुगम थापालगायतका दजनौँ गायक–गायिका निरन्तर गीतसङ्गीतकै सेवामा लागेर निरन्तर प्रयासरत छन ।
त्यस्तै, ट्यालेन्ट अफ भिलेज को विभिन्न सिजनबाट उदाएका नवोदित नृत्याङ्गनाहरू गौरी पुन, प्रमिला श्रीस, तारा थापा, सरिता थापा, सङ्गीता थापा लगायतका धेरैजसो कलाकारहरू अहिले पनि नृत्य क्षेत्रमै क्रियाशील छन् । उहाँहरूले विभिन्न स्टेज प्रोगाममा प्रस्तुत गर्नुभएको नृत्यकलाका कलात्मक प्रस्तुति अहिलेका उदीयमान प्रतिभाका लागि प्रेरणा सावित भएका छन् भन्दा अत्युक्ति नहोला । गाउँमैत्री अक्षयकोष जिमाकले खालि नवप्रतिभालाई आफनो कला प्रस्तुत गर्ने थलाको रूपमा मात्र आफूलाई स्थापित गरेन, यसले त कला, साहित्य र गीतसङ्गीतमा लागेर राष्ट्रियस्तरमै आफनो छुट्टै नाम र पहिचान बनाउन सफल व्यक्तित्वलाई प्रत्यक्ष आफनो कार्यक्रममा निमन्त्रणा गरेर नवप्रतिभा सँगसँगै राखेर उनीहरूलाई हौसला, प्रेरणा र आत्मबल वृद्धि गराउने काममा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको छ । रक्तिम सांस्कृतिक अभियानका तत्कालीन महासचिव एवम्् जनवादी गायक रेम राना, नेपाली गीतसङ्गीतका धरोहर, चर्चित सङ्गीतकार एवम्् नेपाली साङ्गीतिक आकाशका मूर्धन्य व्यक्तित्व आदरणीय बी.बी. अनुरागी, बागलुङले जन्माएको बागलुङको शान, पहिचान एवम् गौरव अहिलेका सर्वाधिक लोकप्रिय एवम् व्यस्त गायक प्रकाश सपुत जस्ता व्यक्तित्वलाई प्रत्यक्ष आफनो कार्यक्रममा उपस्थित गराएर आफनो गाउँको कलाकर्मीलाई हौसला एवम् उत्प्रेरणा जगाउन प्रोत्साहन गर्नु जिमाकको एकदमै प्रशंसनीय र सकारात्मक पक्ष हो । त्यस्तै, प्रगतिशील एवम् जनवादी गायक थुमराज ढुङ्गाना, नवीन बस्याल, लोकगायक राजेश बर्देवालगायतका राष्ट्रियस्तरका स्थापित गायक–गायिकाले पनि ट्यालेन्ट अफ भिलेज कोे विभिन्न सिजनको स्टेजमा उभिएर नवप्रतिभालाई थप हौसला, प्रेरणा र ऊर्जा थप्ने काम गरिसक्नुभएको छ । साहित्य लेखन र पत्रकारिताबाट आफनो छुट्टै पहिचान बनाउन सफल युवा साहित्यकारद्वय दिल श्रीस, राम थापा, अविरल, युवा गजलकार मीन राना, युवा साहित्यकार तारामिलन छन्त्याल, गजलकार नवीन बस्याल जस्ता साहित्य क्षेत्रमा स्थापित व्यक्तित्वलाई आमन्त्रण गरी उहाँहरूको सिर्जना वाचनसँगै प्रतियोगी स्रष्टा एवम् सर्जकको प्रत्यक्ष मूल्याङ्कन गराउनु नवप्रतिभाका लागि निकै प्रेरणादायी पक्ष हो । गाउँमैत्री अक्षयकोष जिमाकले प्रतियोगितात्मक कार्यक्रमको सञ्चालनसँगै साहित्य र सङ्गीतको विभिन्न बिधाका बारेमा प्रशिक्षणसमेत सञ्चालन गर्नु अर्को राम्रो पक्ष हो । स्रष्टा, सर्जक एवम् कलाकार उत्पादन गर्ने अभिप्रायले सञ्चालन गरिएको विविध प्रशिक्षणात्मक कार्यक्रमअन्तर्गत जिमाकले हालसम्म गायन र साहित्य लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ । सोही कार्यक्रमअन्तर्गत साहित्य लेखन अर्थात् गजल, कविता, मुक्तक, कथा, हाइकु, र थाङ्का लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रममा साहित्यकार मित्र मीन राना र स्वयम् म आफूले पनि प्रशिक्षित एवम् सहजीकरण गर्ने अवसर प्राप्त गरेका थिए भने गायनसम्बन्धी पनि जिमाकले प्रशिक्षण सञ्चालन गरेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा जिमाकका अध्यक्ष एवम् गायक हेमराज आश्रमले प्रशिक्षण दिनुभएको थियो । यसरी हेर्दा जिमाकले साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाको उत्पादन, संरक्षण र संवर्द्धनमा निकै अभिरुचिका साथ आफनो साहित्यिक एवम् साङ्गीतिक गतिविधि तीव्र गतिमा अगाडि बढाइरहेको देखिन्छ । पछिल्लो चरणमा सम्मान कार्यक्रमलाई निरन्तरता नदिएता पनि जिमाकको सुरुआती कालमा साहित्य, कलासँगै अन्य विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तित्वलाई सम्मान गरेर उहाँको पेसाप्रति पनि सम्मान गरेको देखिन्छ । जिमाकले हालसम्म सम्मान गरेका व्यक्तित्वमध्य खेलकुद क्षेत्रबाट कुशल खेलाडी भीम सुनार, कृषि व्यवसायबाट रनबहादुर थापा, पहलमान थापा र साहित्य लेखनबाट चन्द्रबहादुर आलेलाई सम्मान गरेको थियो । जिमाकको आफनो उद्देश्य, क्षेत्र, साहित्य, कला, सङ्गीतको संरक्षण, सम्वद्र्धनतर्फ लक्षित भएकाले अन्य क्षेत्रलाई भन्दा आफनो गीतसङ्गीतको क्षेत्रलाई निरन्तरता दिनु उपयुक्त मानी पछिल्लो चरणमा साहित्य, कला, सङ्गीतबाहेकका अन्य क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको पाइँदैन । त्यस्तै, बेला बेलामा विभिन्न रोगी बिरामी व्यक्तिलाई आर्थिक सहयोग गरी मानवता झल्किने खालका सामाजिक कार्य पनि गर्दै आएको छ । गोरेटो निर्माण तथा सरसफाइ जस्ता विशुद्ध सामाजिक कार्यमा पनि जिमाकको उत्तिकै भूमिका रहँदै आएको छ । जिमाकको अर्को राम्रो पक्ष, यसले आफनो कार्यक्रम सञ्चालनमा चाहिने सम्पूर्ण सामग्री आफैले व्यवस्थापन गरेको छ । ग्रामीण परिवेशमा सञ्चालन हुने एउटा औपचारिक कार्यक्रममा चाहिने सामाग्री जस्तै– साउन्ड सिस्टमका सम्पूर्ण सामग्री, आकर्षक मन्च व्यवस्थापनका लागि चाहिने आकर्षक टेन्टसहितका सम्पूर्ण सामग्री र सम्पूर्ण बाजागाजाको व्यवस्थापन, लाइट सिस्टमका सम्पूर्ण सामग्री जिमाक आफैले व्यवस्थापन गर्नु निकै प्रशंसनीय र उदाहरणीय पक्ष हो । गाउँमैत्री अक्षयकोष जिमाकको वार्षिक नियमित गाउ“मैत्री अक्षयकोष जिमाक स्मारिका–२०७८ ड्ड टछ कार्यक्रम ट्यालेन्ट अफ भिलेज प्रत्येक वर्षको विजयादशमीको अवसरमा सञ्चालन गर्दछ । दसैँको टीकाको दिनपछि र पूर्णिमाभित्रको कुनै दुई दिन जिमाकले आÇनो कार्यक्रमको दिनको रूपमा विकास गरेको छ । हालसम्मका कार्यक्रम सोही दिनमा सञ्चालन भएको देखिन्छ । साहित्य, कला र सङ्गीतप्रेमी पारखीको माझमा जिमाक निकै लोकप्रिय र परिचित छ । जिमाक यस्तो संस्था हो, जो आफू मात्र परिचित भएन, यसले आफूसँगै आÇनोे गाउँ र सिङ्गो जिल्लालाई पहिचान दिएको छ । भर्खरै मात्र गाउँमैत्री अक्षयकोषद्वारा निर्माण गरिएको सम्भवतः नेपालकै ठुलो नगरा यसको ज्वलन्त उदारहण हो । २८० केजीको तौल रहेको झन्डै ५ लाख ५० हजारभन्दा बढीको लगानीमा निर्माण गरिएको यति ठुलो नगरा देशकै सबैभन्दा ठुलो नगरा रहेको दाबी गरिएको छ । कला, साहित्य, सङ्गीत र संस्कृतिको सङ्केत एवम् लोगोको रूपमा लिइएको उक्त नगरा स्थानीय कालीगढ रविलाल विकको अगुवाइमा जरसिंह विक, लालबहादुर किसान, पूर्णबहादुर पुन, नरहरि थापा, सरबहादुर परियारलगायतका व्यक्तिले स्थानीय एवम् पौराणिक प्रविधिबाटै निर्माण गरिएको हो । उक्त नगरा निर्माणसँगै हाल यसको चर्चा परिचचान ह्वाट्टै बढेको छ । भोलिका दिनमा आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा यसले निकै महŒवपूर्ण भूमिका खेल्ने देखिन्छ । त्यस्तै नेपालको राजधानीबाहेक मोफसलमा बिरलै मात्र पाइने सङ्गीत सङ्ग्रहालय, सङ्गीत पाठशाला र सङ्गीत पुस्तकालय निर्माणमा पनि जिमाक यति बेला दु्रत गतिमा लागिपरेको छ । यसका लागि आवश्यक केही भवन निर्माण गरिसकेको छ भने केही भवन निर्माणको चरणमा रहेको छ । जिमाकको सङ्गतबाट मैले जिमाकलाई बुझेको कुरा जिमाकले जे भन्छ, त्यो गर्छ । पहिले सुन्दा अचम्म लाग्छ तर पछि त्यो काम गरेरै छोड्छ । जिमाकको वार्षिक कार्यक्रम ट्यालेन्ट अफ भिलेज को दशौँ वर्षसम्मको नियमितता, साउन्ड सिस्टमको व्यवस्थापन, छनौट भएका प्रतिभाको आफनो लगानीमा गीत रेकर्डिङ, जग्गा व्यवस्थापन, स्टेज एवम् भवन निर्माण, नेपालकै ठुलो नगरा निर्माण यसको साँच्चिकै नमुना र ज्वलन्त उदाहरण हुन् । अन्तमा, गाउँमैत्री अक्षयकोष जिमाक साहित्य, कला र सङ्गीतको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा निडर, अडिग र दरिलो खम्बा भएर उभियोस् । अग्रजको साथ–सहयोग र सल्लाह–सुझावको जिमाकलाई जहिले पनि भोक जागिरहोस्, विगतबाट पाठ सिक्दै आगतका सुन्दर उषाहरू पछ्याउन सकोस् । फेरि पनि हार्दिक शुभकामना ।