कला के हो ? हर मानिस, समाज र देशले कलाको महत्व बुझिरहेको छ ? कति पहिचान र उपयोग छ कलाको ? कि कला समाजमा उपेक्षित छ ? यो आजको समाजमा स्वाभाविक रूपमा आम चासो, छलफल र बहसको विषय बन्नुपर्दछ । 

मानिसको विभिन्न स्तरको व्यवहार उनीहरूको काल्पनिक तथा व्यावसायिक सिपबाट सृजना गरिएका सन्दर्भ तथा वस्तुहरूलाई “कला” भनिन्छ । आफूले जानेको सिपलाई कला भनिन्छ ।

अर्को अर्थमा कला जीवन हो । स्वयम् मनुष्य एक कलात्मक कृति हो । कलाबिना मानव जीवन शून्यप्रायः छ । प्रकृतिको उत्पत्ति हर चिजमा आआफ्नो विशेषता सहितको कला छ । केवल त्यो कला, विशेषता र क्षमतालाई पहिचान गर्ने, चिन्ने सामथ्र्य हामीसँग छ कि छैन ? यो मुख्य सवाल हो ।

कलाभित्र अनेक आयाम समेटिन्छन् । चाहे त्यो गायन कला होस वा नृत्य कला होस्, वाक्कला होस् वा साहित्य सिर्जना, जीवन बाँच्ने कला होस् वा अरू यस्तै भिन्न पृथक् विशिष्ट क्षमतासहितका कला—नेपाली समाजमा कलालाई हेर्ने र बुझ्ने दृष्टिकोण आज पनि सतही अवस्थामा देखिन्छ । 

कला भनेको त क्षणिक मनोरञ्जनको माध्यम न हो, मानिसहरूले आफ्नो कुण्ठा व्यक्त गर्ने अस्त्र न हो या अरूलाई प्रभावमा पार्ने र चर्चित हुने हत्कन्डा न हो—यस्तो बुझाइ सङ्कीर्णताको उपज हो । 

साँचो कलामा जीवन हुन्छ, जीवन भेटिन्छ । व्यक्तिको कला समाजको पहिचान, परिचय गौरव मात्र होइन, सम्पति बन्छ । कलाको गहिराइ र दायरा फराकिलो बन्दै गए त्यो सर्वाधिक मानिसको आकर्षण र गन्तव्य बन्छ । के कलामा यी र यस्तै सोच बुझाइले सरकार, सरोकारवालाबाट यथेष्ट लगानी भइरहेको छ ? विडम्बना भन्नुपर्छ, केन्द्र सरकारदेखि स्थानीय सरकारसम्ममा कलालाई सस्तो मनोरञ्जनको साधन मानिन्छ । आखिर यसको महत्व कसले कहिले र कसरी बुझाउने ? यो सवाल र प्रश्न आजको दिनमा अहम् बनेको छ ।

लिच्छविकाललाई कलाको दृष्टिकोणले स्वर्णीम कालको रूपमा लिने गरिन्छ । त्यस कालका अद्वितीय कलाकृतिको परख गर्ने हो भने नेपाली कलाको इतिहास अझ पुरानो हुन सक्ने कुरामा कुनै शङ्का रहँदैन । प्रज्ञापारमिताको पाण्डुलिपिमा अङ्कित चित्र नै नेपालमा हालसम्म पाइएको सबभन्दा पुरानो चित्र हो भन्ने प्रमाणित भए तापनि सातौँ शताब्दीतिरका चिनियाँ यात्रीको यात्रावृत्तान्तमा काठमाडौँ उपत्यकाका घरहरूमा सुन्दर भित्तेचित्र रहेका छन् भनेर उल्लेख गरिएको पनि हामी पाउँछौँ । हाम्रो संस्कृति हाम्रो सभ्यता जत्तिकै पुरानो छ र हाम्रो कला पनि हाम्रो संस्कृतिकै अभिन्न अङ्गको रूपमा रहिआएको छ । 

मूर्तिकला, सङ्गीत, चित्रकला, प्रस्तुतिकला र इन्टलेसन कला आदिको रूपमा हाम्रा रीतिरिवाज तथा जात्रापर्वले कलाका विभिन्न विधालाई समेटेको पाइन्छ । त्यस कालमा कला कलाका लागि मात्र नभई मानव जीवनका लागि समेत अपरिहार्य तत्व थियो । कलामा आध्यात्मिक महत्व मात्र नभई व्यावहारिक उपयोगिता पनि रहेको हुन्छ ।

पछिल्लो समय देशका सबैजसो क्षेत्रमा कायापलट भएको छ । कुनै दिन राजा–महाराजाको भजन, स्तुतिगान गाएर अभिव्यक्त गरिने कला अहिले आम नेपालीलाई पस्कने वातावरण बनेको छ । यसमा रम्ने रमाउने अवसर सिर्जित छ तर यिनै कलाको उजागर, प्रवद्र्धन गर्ने सन्दर्भलाई हेर्ने हो भने सरकारबाट चरम उपेक्षित देखिन्छ । दूरदराज गाउँघरमा त आफ्नो जोरबलमा देशविदेशबाट पैसा उठाएर मेलाउत्सव गरेर ऐतिहासिक परम्परागत कलासंस्कृतिको संरक्षण, सम्वद्र्धन गरेको पाइन्छ । निजी र सामुदायिक स्तरबाट भएका साना ठुला केही प्रयासले कलाको महत्व र बहसलाई दर्शाइरहेको छ । 

यसको एक प्रयास र उदाहरण हो, ट्यालेन्ट अफ भिलेज । प्रतिभाको खोजी गर्ने कार्यक्रम बागलुङको गाउ“मैत्री अक्षयकोष न्ःब्प् स्मारिका–२०७८ ड्ड डघ काठेखोला गाउँपालिका–४ तङ्ग्राममा एक दशक लामो समयदेखि निरन्तर सञ्चालित छ । गाउँमैत्री अक्षयकोष (जिमाक) ले २०६६ सालमा (गजल, गायन र नृत्य) विधामा सुरु गरेको प्रतिस्पर्धात्मक कार्यक्रमको एघारौँ संस्करणसम्म आइपुग्दा यो जिल्लास्तरमै मानक बन्न पुगेको छ । स्थानीय कला प्रतिभा पहिचान र प्रोत्साहित गर्ने यो एक महत्वपूर्ण र प्रेरक कर्म हो । 

पछिल्लो समय प्रतिस्पर्धात्मक कार्यक्रमका अलावा तङ्ग्राममा गण्डकी प्रदेशकै नमुनाका रूपमा लोकबाजा सङ्ग्रहालय बनाउने काम पनि तीव्र छ । यही अनुक्रममा २८० किलोको नगरा निर्माण गरेर राखिसकिएको छ । गाउँमैत्री अक्षयकोषले यसलाई ‘देशकै ठुलो नगरा दाबीसमेत गरेको छ । लोकबाजा सङ्ग्रहालयमा नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको छ ।

कला, सङ्गीत र साहित्यको संरक्षणमा एक कोष या समूहले गरेको कला पहिचान गर्ने र कलासँग सम्बन्धित मौलिक लोकबाजाको संरक्षण गरेर भावी पुस्तासँग जोड्ने शुभकामना गाउँमैत्री अक्षयकोष (जिमाक) आफ्नो दश वर्षका गतिविधि समावेश गरी स्मारिका प्रकाशन गर्न थालेकोमा स्मारिकाको लोकप्रियताको शुभकामना व्यक्त गर्दछौँ । प्रयास प्रशंसनीय र अनुकरणीय भएकोमा दुई मत छैन । हाम्रा तीन तहका सरकारले विकास भनेको बाटाघाटा मात्र सोच्छन् । यो बाहेकका अरू कला, चेतना र जागरणका पाटा उनीहरू गौण ठान्छन् । कलाले नै अहिले गाउँलाई चिनाउने, ठाउँलाई चिनाउने मात्रै होइन, सिङ्गो पालिका, जिल्ला, प्रदेश र देशलाई नै चिनाउने सम्भावना र अवसर पनि हुन्छ । 

तसर्थ, मुख्यतः कला, यसको सिर्जनशीलता, महत्व, सम्भावना र अवसरलाई पारख गर्न सक्नुपर्दछ तर यो सरकार, सरोकारवाला कसले बुझ्ने ? कसले बुझाउने ?